तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जका शैक्षिक संस्थाहरूलाई वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्र भित्रका शैक्षिक संस्थाहरूलाई वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेद्वारा जारी गरिएको सूचनामा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको छ ।
सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएसँगै प्रशासनले आज सूचना जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार र रङ्गशालामा हुने दर्शक सहितको खेलकुद, मानिसहरूको भिडभाड हुने कुनै पनि कार्यक्रम वैशाख मसान्तभित्र नगर्न÷नगराउन, मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा बाहेक भिड जम्मा हुने कुनै पाठ पूजा नगर्न, मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुन, पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई २५ जना मात्र सहभागी हुने गरी गर्नुपर्ने सूचनामा उल्लेख छ ।
वैशाख महिना विवाहको लगन भएको महिना भएकोले पार्टी प्यालेसहरू विवाहका लागि यसअघिदेखि नै बुकिङ भएका छन् । त्यसै गरि सूचनामा सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा उल्लेख गरिएको छ ।
कार्यालय, बैङ्क तथा वित्तीय संस्था, पसल जस्ता सार्वजनिक स्थलमा स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, मास्क नलगाई आएमा बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालयमा प्रवेश गर्न नदिन, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।
यसै गरी आम नागरिक तथा सर्वसाधारणले व्यक्तिगत र सामुदायिक सरसफाईमा ध्यान दिन, स्वाब दिएपछि अरू व्यक्तिसँग अलग रहने र परीक्षणको नतिजा पोजेटिभ आएमा लक्षण सहितको सङ्क्रमितले अस्पताल र लक्षण रहित संक्रमित होम आइसोलेसनमा रहन र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button