तपाईँ सुन्दै हुनुहुन्छः

१५ जना भन्दा बढी जम्मा नहुन प्रशासनको निर्देशन

अछाम । अछाम जिल्लामा पनि युके भेरियन्टको नयाँ कोरोना भाइरसका संक्रमित देखिन थालेपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । जिल्लामा दुई जना नयाँ कोरोना संक्रमित पुष्टि भई आइसोलेसनमा उपचार भइरहेको र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय अछामले १५ जना भन्दा बढी एकैठाउमा भेला नहुन आग्रह गरेको छ ।
नेपाल सरकारले पनि सोमबारबाटै १५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नहुने निर्णय गरेको भन्दै सो निर्णय जिल्लामा पनि पालना गर्न जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताउनुभयो ।
बैठक, छलफल लगायतका कार्य अनलाइन मार्फत गर्न आग्रह गर्दै उहाँले यदि भेला नै हुनु पर्ने भए १५ जना भन्दा कम मात्र भेला भई भौतिक दूरी कायम गर्नुपर्ने उहाँको भनाई छ ।
अछाममा आज चैते दशैँ पनि भएकाले भिडभाड बढी हुने भन्दै सबैले सतर्कता अपनाउन उहाँको आग्रह छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पनि जिल्ला कोराना भाइरसको उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य सुरक्षाको कडाइका साथ पालना गर्न, अनावश्यक भिडभाड नगर्न तथा भिडभाड हुने भेला गोष्ठी  सेमिनार जस्ता कार्य नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button