तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु

अछाम । अछाममा उद्यमशीलता विकाससम्बन्धी पाँच दिने तालिम शुरु भएको छ । युवाहरू तथा व्यवसाय गरिरहेका व्यक्तिलाई थप उद्यमी बनाई स्वरोजगार बनाउने उद्देश्यले पाँच दिने तालिमको आयोजना गरिएको हो ।

युएसएडको सहयोग, कर्णाली बेसीन कन्जर्भेशन फाउन्डेसन र अछाम जेसिजको आयोजना तथा बिआर्सी नेपालको समन्वयमा सञ्चालन भइरहेको तालिममा २२ जना उद्यमी व्यवसायीको सहभागिता रहेको छ ।

अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।

नगरप्रमुख बोहराले हरेक व्यक्तिले केही न केही उद्यम गरेर आय आर्जन गर्नुपर्नेमा जोड दिनुभयो । सानोबाटै ठुलो काम गर्न सकिने भन्दै हरे व्यक्तिले उद्यमशील बन्ने मानसिकताका साथ अघि बढ्नुपर्ने भन्दै तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

बिजनेस ईन्क्युवेशन एन्ड एक्सलेरेशन प्रोग्राम अन्तर्गत शुरु गरिएको तालिममा विशिष्ट अतिथि पञ्चदेवल विनायक नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले युवाहरूलाई आफ्नो रुचि र चाहना अनुसार उद्यममा अग्रसर हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोजक कर्णाली बेसिन कन्जर्भेशन फाउण्डेशनका अध्यक्ष गौरव देवकोटा, अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल, गैरसरकारी संस्था महासङ्घका सचिव विमला शाही, तालिमका प्रशिक्षक किंग्स कलेज काठमाडौँका प्रतीकराज न्यौपाने, अभिषेक नेपाल, अछाम जेसिजका पूर्व अध्यक्ष नरेश कुमार शाही, निवर्तमान अध्यक्ष तुलाराम बिसी, अछाम जेसिजका उपाध्यक्ष तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपाने, रेडियो गाउँघर प्रबन्ध निर्देशक टेक बहादुर थापा लगायतले मन्तव्य राख्दै तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा अछाम जेसिज २०२१ ले प्रकाशन गरेको भित्ते पात्रोको समेत विमोचन गरिएको छ । अछाम जेसिजले अछाम जिल्लाका विभिन्न पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष झल्किने तस्वीरहरु समावेश गरी २०७८ सालको भित्तेपात्रो प्रकाशन गरेको थियो । भित्ते पात्रोको प्रमुख अतिथि बोहरा लगायत कार्यक्रमका अतिथिहरूले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button