तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटालाई हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश

वैशाख । भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा अफ्रिकन रुटस एसोसिएसन क्यामरुन धनकुटा फुटबल क्लबलाई शून्यको विरुद्धमा ३ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो हाफको अन्तिम ४० औ मिनेटमा अफ्रिकन रुटस एसोसिएसन क्यामरुनका जर्सी नम्बर १८ का एमफोमोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४६ औ मिनेटमा जर्सी नम्बर १५ का सिएम्बाकोपको दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए भने जर्सी नम्बर ११ का मेघाबोटुले खेलको ६१ औ मिनेटमा अर्को गोल गर्दै टिमलाई सेमिफाइनल प्रवेश गराएका हुन ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र चौधरी ग्रुपको सह प्रायोजनमा शुरु चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप अन्तर्गत आइतबार भएको पहिलो खेलमा धरान फुटबल क्लब सुनसरीलाई ट्राई बेकरमा शून्यका विरुद्ध ३ गोल गर्दै खोटाङ भगवती क्लब खोटाङ सेमिफाइनल प्रवेश गरेको छ भने सोमवारको दोस्रो खेलमा मोरङको सगरमाया यूथ क्लबलाई २ गोलको विरुद्ध ५ गोल गर्दे आयोजक भोजपुर फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय टिमसहित ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकप विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् । करिब ३४ लाखको लागतमा हुने फुटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घबाट ५ लाख र चौधरी ग्रुपले १ लाख सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको चौथो खेल वैशाख ८ गते रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रुपन्देहीका बिच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
प्रतियोगिता आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button