तपाईँ सुन्दै हुनुहुन्छः

जितगढी किल्लामा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण

रुपन्देही । नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो जितगढी किल्ला । वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो ।
बुटवल उप–महानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो । त्यति बेला अंग्रेज (इष्ट इन्डिया कम्पनी) सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो ।
भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरूले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरू किल्लाहरूमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ ।
तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसीयालीलाई बुटवल उपमहानगरपालिकाले आज जितगढी विजय उत्सव दिवसका रुपमा संक्षिप्त कार्यक्रम गर्दै मनाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
सम्पदा स्थल किल्ला परिसरमा स्वास्थ्य सुरक्षाको मापदण्डसहित संक्षिप्त कार्यक्रमका बिच दिवस मनाइएको हो । त्यस अवसरमा उपप्रमुख गुमादेवी आचार्य, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाली सेनाका रामचन्द्र शर्मालगायतले कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button