तपाईँ सुन्दै हुनुहुन्छः

चोरीका घटना बढ्न थालेपछि स्थानीय त्रसित 

सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका र अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको सडक आसपासका बस्तीमा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
सवारी साधन, किराना पसल, सवारी पार्टपुर्जा, पशु चौपाया दिनहुँ जसो चोरी हुन थालेपछि स्थानीयवासी त्रसित भएका हुन । राती सुनसान भएपछि सबै जना सुतेको मौका छोपेर चोरी हुने गरेको स्थानीयले बताएका छन् ।
रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारबाट सोमबार राती सृष्टि निर्माण सेवाको न ६ त ९८५८ नम्बरको ट्याक्टरको रिङसहित टायर चोरी भएको छ । घर छेउमा पार्किङ गरिराखेको ट्याक्टरको टायर रातारात चोरी भएको सृष्टि निर्माण सेवाका सञ्चालक कैलाश लौगीले बताउनुभयो ।
एक साता अगाडि अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा महादेव माझीले सञ्चालन गरेको किराना पसलमा चोरी भएको थियो । माझीको किराना पसलबाट चोरहरूले ढोकाको ताल्चा फोरेर ३० हजार भन्दा बढीको सरसामान चोरेर लगेको माझीले बताउनुभयो ।
चोरीमा संलग्न गिरोह पत्ता लाग्न नसक्दा चोरी हुने चिन्ताले राती चैनले सुत्न समेत नपाएको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button