तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्यान्ड्सद्वारा नेपाल ३ विकेटले पराजित

काठमाडौँ । मध्य क्रमका ब्याट्सम्यान बास डी लिडले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टी २० आई सिरिजमा घरेलु टोली नेपालमाथि ३ विकेटको सानदार जित निकालेको छ । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।
नेदरल्यान्ड्सका बास डी लिडले ४२ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । यो नेदरल्यान्ड्सले आफ्नो टी–२० आई इतिहासकै सर्वाधिक विशाल लक्ष्य पूरा(चेश) गरेको हो । बेन कुपर ३५ बलमा १० चौकासहित ५५ रनमा क्याच आउट भए ।
नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए । करण केसी, कुशल मल्ल र अभिनाश बोहराले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । नेपालले टी–२० आइमा दोस्रो पटक २ सयमाथिको योगफल बनाएको हो । यसअघि नेपालले गत वर्ष टियुमै १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । जुन नेपालले टी–२० आइमा बनाएको सर्वाधिक ठुलो योगफलमा पर्छ ।
नेपालका ओपनर कुशल भुर्तेल ४६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेलले लगातार तीन अर्ध शतक प्रहार गरे । कुशलले १३ औँ ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई छक्का साथ ४१ बलमा अर्ध शतक पूरा गरेका थिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्कासहित आक्रामक ६० रनको योगदान दिए ।
दीपेन्द्रले २८ बलमा आफ्नो टी २० आई करिअरको पहिलो अर्ध शतक पूरा गरेका थिए । १६ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले कप्तान पिटर शिलारलाई छक्का प्रहार गर्दै अर्ध शतक पूरा गरेका थिए ।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि दीपेन्द्र र कुशल भुर्तेलले ७८ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल बनाएको हो ।
कुशल मल्ल ७ बलमा ३ छक्कासहित १८ रनमा क्याच आउट भए । सोमपाल कामी १३ बलमा २ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे । विनोद भण्डारी ७ रनमा अविजित रहे । फाइनल वैशाख ११ मा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button