तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न मन्त्री त्रिपाठीको आग्रह

File Photo
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेका आदेश तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
मन्त्रालयले आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले जारी गरेका आदेशहरू पालना गरी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको हो ।
मन्त्री त्रिपाठीले सरकारका आदेशहरू पालना नभए लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला केही दिनमा बढ्दै गएको कोरोनाको संक्रमण दर नियन्त्रणमा नआए राज्यको श्रोत साधनले धान्न नसक्ने अवस्था आउने बताउनुभयो ।
सचिव अर्यालले दिनुभएको जानकारी अनुसार कोरोना भाइरसको संक्रमण दर करिब १४ हप्ता सम्म निरन्तर बढ्दै जाने र त्यसपछि मात्रै नियन्त्रणमा आउने गरेको विभिन्न देशको तथ्याङ्कले देखाएको छ ।
यस आधारमा हेर्दा नेपालमा गएको ५ हप्ता देखी कोरोना सङ्क्रमणको दोस्रो लहर सुरू भएको तथा संक्रमण दर बढ्दै गएको देखिन्छ ।
यसै तथ्यका आधारमा हेर्दा नेपालमा हालको संक्रमण दर नियन्त्रणमा नआए यस चरणको उत्कर्षको समय अर्थात् असारको पहिलो हप्ता सम्म पुग्दा दैनिक ११ हजार जना भन्दा बढी नयाँ संक्रमित थपिने र सक्रिय सङ्क्रमितको सङ्ख्या ३ लाख जना भन्दा बढी पुग्ने प्रक्षेपण गरिएको सचिव अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button