तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दर बालबालिकामा बढी 

रुपन्देही । लुम्बिनी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दर बालबालिकामा बढी देखिएको छ । बालबालिकामा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा नयाँ भेरियन्ट बढी सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने  चिकित्सकहरू बताउँदै आएका छन् ।
नयाँ कोरोना भाइरस संक्रमण भएमा सन्चो हुने दर समेत कम रहेकाले सचेत हुन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  राजेन्द्र खनालले आग्रह गर्नुभएको छ । सिकिस्त अवस्थामा रहेका बिरामीहरूलाई सामान्य अवस्थामा फर्काउन गाह्रो हुने भएकाले आफ्नो सुरक्षामा आफै ध्यान दिएर सतर्क रहनु पर्ने  सुपरिटेन्डेन्ट डाक्टर  राजेन्द्र खनालको सुझाव छ ।
यसअघिको कोभिडको संक्रमण दर बालबालिकामा कम थियो । नयाँ भेरियन्टमा भने विद्यालय अध्ययन गर्ने बालबालिकामा देखा पर्नुले गम्भीर बन्नु पर्ने अवस्था आएको चिकित्सकहरूको भनाइ छ । लुम्बिनी प्रदेशका मुख्य शहरहरु बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगञ्जमा बालबालिकामा संक्रमण बढिरहेको छ ।
रुपन्देहीमा एक हप्तामा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । बाँकेमा ५५ जना बालबालिकामा संक्रमण देखिएको छ । रुपन्देहीको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे पनि मापदण्ड पालनामा उदासीनता देखिएको छ ।
बालबालिकालाई विशेष निगरानी राख्ने बेलामा खासै चासो नदिएको चिकित्सकहरू बताउँछन् । बालबालिकालाई भिडभाडमा जानबाट जोगाउने, विद्यालय पठाउँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने जस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गर्नुपर्ने बाल रोग विशेषज्ञ डा.सन्तोष पोखरेल बताउनुहुन्छ ।
सहरी क्षेत्रका परीक्षा सञ्चालन भएका विद्यालय बाहेक अन्य विद्यालय बन्द गर्न सरकारले निर्देशन गरे पनि सरकारको निर्देशनलाई विद्यालय सञ्चालकहरूले पालना गरेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button