तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवतीलाई घरदैलोमै कोसेली अभियान

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले दूर दराजका गर्भवती महिलालाई घरदैलोमै कोसेली अभियान चलाएको छ । मातृ शिशु सुरक्षाका लागि भन्दै पालिकाकी उपाध्यक्ष विष्णुमाया बुढा घरघरमा पुगेर गर्भवती महिलालाई कोसेली वितरणको अभियानमा जुट्नुभएको छ ।

जुम्लाको १ नगरपालिका र ७ गाउँपालिकामध्ये बुढा सक्रिय उपाध्यक्षका रूपमा काम गर्दै आएकी छन् । उपाध्यक्ष बुढाले गर्भवती र सुत्केरी सुनौला हजार दिनभित्रका आमा तथा बच्चाको पोषण अवस्थामा सुधार ल्याउन कोसेली बोकेर गाउँ–गाउँ पुग्न थालेकी हुन् ।

भौगोलिक हिसाबले जिल्लाकै दुर्गम पालिकाको रुपमा रहेको तिला गाउँपालिकाका करिब एक हजार बढी गर्भवती महिलालाई कोसेली बाँड्ने लक्ष्यका साथ गाउँ गाउँमा पुगेको उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् ।

उहाँले भन्नुभयो,“कोसेली झोलामा बच्चालाई न्यानो कपडा, तेल, साबुन, नङ कटर र पोषणयुक्त आहारा चना राखिएको छ । तिलाका ९ वटै वडाका सुनौला हजार दिनभित्रका करिब १ हजार १ सय ७० जना आमालाई १ साताभरि कोसेली वितरण गर्ने लक्ष्य राखिएको छ ।”

तिला गाउँपालिका ४ की गर्भवती महिला अञ्जली शाहीले घरदैलामै पुगेर कोसेली सहित स्वास्थ्य सुरक्षाका बारेमा जानकारी पाउँदा खुसी लागेको बताइन् ।

गर्भवती महिलाले सागपात, अण्डा माछा मासु खानु हुँदैन भन्न परम्परागत सोचलाई अन्त्य गर्न कोसेली वितरण कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय महिला बताउँछन् ।

उपाध्यक्ष बुढाका अनुसार कोसेलीका कारण गर्भवती र सुत्केरी आमालाई निकै सहज भएको छ । ‘सबैका घर हुनेखाने हुँदैनन् । थोरै भए पनि पोसिला खानेकुरा पाउँदा विपन्न व्यक्ति तथा घरपरिवारमा राहत पुगेको छ ।’

एक साताभित्र तिला गाउँपालिकाका ९ वटै वडाका करिब १ हजार १ सय ७० जना गर्भवती र सुत्केरी आमालाई कोसेली प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button