तपाईँ सुन्दै हुनुहुन्छः

सम्पदा संरक्षणका लागि फोटो प्रदर्शन र प्रतियोगिता 

भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रिय स्तरको अनलाइन तस्बिर प्रतियोगिता र प्रदर्शन गरिने भएको छ ।

रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन गर्दै किपाग्राफी भक्तपुरले भक्तपुर नवदुर्गा नाच राष्ट्रिय फोटो प्रतियोगिता–२०७८ आयोजना गर्ने जनाएको हो ।

भक्तपुर, काठमाडौँ र काभ्रेपलाञ्चोकमा प्रदर्शन गरिने नाचका तस्बिरहरू प्रतियोगितामा समावेश गरिने आयोजक समितिका अध्यक्ष अच्युत प्रजापतिले जानकारी दिनुभयो ।

प्रतियोगितामा सामले हुन चाहनेहरूले वैशाख १५ गतेदेखि जेठ मसान्तसम्म अनलाइनमार्फत फारम भरेर आफ्नो तस्बिरहरू पठाउन सकिने उहाँले जानकारी दिनुभयो ।

फारम भरेर सङ्कलन भएका मध्ये उत्कृष्ट १०० तस्बिर चयन गरिने छ । सङ्कलन भएका १०० मध्ये उत्कृष्ट १० तस्बिर पहिलो चरणमा छनौट गरिने प्रजापतिले बताउनुभयो ।

त्यस्तै १० तस्बिर मध्येबाट पनि सर्वोत्कृष्ट तीन तस्बिरलाई पहिलो दोस्रो र तेस्रो घोषणा गरिने आयोजकको भनाई छ ।

पहिलो हुने तस्बिरलाई नगद रु ३० हजारसहित प्रमाण पत्र र ट्रफीबाट सम्मान गरिने छ भने दोस्रो स्थान हासिल गर्नेलाई रु २० हजार र तेस्रो हुन सफल हुनेलाई रु १० हजार नगद, प्रमाण पत्रसहित ट्रफीबाट सम्मान गरिने प्रजापतिले बताउनुभयो ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशिल बन्धु थापाले तस्बिरको माध्यमबाट भक्तपुर लगायत देशभरका कला सम्पदा र संस्कृतिको प्रर्वदनमा यो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्नेमा आशा व्यक्त गर्नुभयो ।

सम्पदा संरक्षणका लागि फोटोग्राफी भन्ने मूल नाराका साथ अघि बढेको किपा ग्राफीले नेपालमा पछिल्लो समय कोरोनाको कहरलाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट तस्बिर सङ्कलन र प्रदर्शनी समेत गरिने कार्यक्रम संयोजक रबिता किसीले जानकारी दिनुभयो ।

लोकतान्त्रिक विधिबाट ८ महिनासम्म सञ्चालन गरिने नवदुर्गा नाचका बारे जानकारी प्रदान गर्ने र यसको प्रचारप्रसारमा सहयोग पुर्‍याउने उद्देश्य रहेको संस्थाका सचिव बालकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button