तपाईँ सुन्दै हुनुहुन्छः

खनालसहित केही नेताले स्पष्टीकरण बुझाए

काठमाडौँ । नेकपा (एमाले)ले सांसद पदबाट किन कारवाही नगर्ने भन्ने सम्बन्धमा सोधिएको स्पष्टीकरणको जवाफ दिने क्रम शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले वरिष्ठ नेता झलनाथ खनालसहित केही सांसदले स्पष्टीकरणको जवाफ पार्टी कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । उहाँका अनुसार खनालसहित नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ तथा कर्णाली प्रदेशका अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र देवी वलीले स्पष्टीकरणको जवाफ दिनुभएको छ ।

आज स्पष्टीकरणको जवाफ पठाउने अन्तिम दिन भए पनि केहीले मात्र जवाफ पठाउनु भएको हो । यही वैशाख ६ गते बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लङ्घन गरेको आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो ।

केहीलाई दुई दिन र केहीलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको थियो । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र वैशाख ७ गते ती नेतालाई पठाइएको थियो ।

उहाँहरु सबैलाई एमालेको विधानमा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम सङ्घीय सांसद र प्रदेश सभा सदस्यलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको थियो । यस्तै एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक पनि बस्ने भएको छ । यही वैशाख ६ गतेदेखि शुरु भएको बैठक भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको कार्यालय सचिव रिजालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button