तपाईँ सुन्दै हुनुहुन्छः

न्यु डायमन्ड स्पोर्ट्स क्लब फाइनलमा प्रवेश

काठमाडौँ । एनभिए लिग विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको सेमिफाइनलमा डायमन्डले एनभिए लिगको उपविजेता विभागीय नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । भोटेकोशी गाउँपालिका २ स्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा भएको खेलको पहिलो सेटमा डायमन्डले २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेटमा लय गुमाएको डायमन्डले १९–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डायमन्डले चौथो सेटमा २५–१९ को सहज जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भयो ।
अब डायमन्डले उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ ।
प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । समूह ए मा न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् भने समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् ।
लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button