तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक प्रहरीको अनुरोधः मास्कको अनिवार्य प्रयोग गरौँ

काठमाडौँ । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै आजदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो । पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button