तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा निषेधाज्ञाको दोस्रो दिन जिल्ला सुनसान

दैलेख।दैलेखमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सदरमुकाम सहित स्थानीय व्यापारिक केन्द्र सुनसान देखिएका छन् । स्थानीय प्रशासनले २१ गते राति १२ बजेदेखि लागु हुने गरी जारी गरेको निषेधाज्ञाका कारण स्थानीय बजार सुनसान देखिएका हुन् । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न स्थानीय प्रशासनले एक हप्ताका लागी निषेधाज्ञा जारी गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

दैलेख जिल्लाभर लागू हुने गरी अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागी हिँडडुलमा समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बत्ताउनुभयो । अत्यावश्यक काम बाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन आज बिहानैबाट मुख्य बजार दैलेख सदरमुकाम, दुल्लु लगायत स्थानीय तहका मुख्य बजार सुनसान छन् । मानिसको आवत–जावत र जमघट हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बत्ताउनुभयो ।

जिल्लाभर दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, फलफूल, तरकारी, ग्यासका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना हुने गरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भए अनुसार आवत–जावत निकै कम छ । सवारी साधन पुर्णरुपमा ठप्प छन् भने औषधि पसल मात्र सञ्चालनमा आइरहेका छन् । बिना काम हिँड्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोड्ने गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button