तपाईँ सुन्दै हुनुहुन्छः

मतको विश्लेषण गरी राष्ट्रियसभामा उम्मेदवार बनाउने निर्णय

काठमाण्डौं । नेकपा एमाले स्थायी समितिको आज बसेको तेस्रो बैठकमा राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त सदस्यमा आफ्ना उम्मेदवारको जीत सुनिश्चित हुने गरी मतको विश्लेषणका आधारमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका मतदाताहरू र अन्य दलहरूसँग पनि छलफल गरी समयमै उम्मेदवारी दर्ता गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रेडियो नेपाललाई बताउनुभयो ।
बैठकमा यही बैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले लिनुहुने विश्वासको मतका विषयमा पनि छलफल भएको र त्यस सम्बन्धमा अन्य पक्षसँग पनि थप छलफल गर्ने निर्णय गरेको छ ।

एमाले नेता माधवकुमार नेपाल समूहले अन्य राजनीतिक दलहरूसँग मिलेर राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा छुट्टै उम्मेदवार बनाउन गरेको सहमतिका बारेमा पनि बैठकमा गम्भीर छलफल भएको पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।बुधवार नेता नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवबिच राष्ट्रियसभा र लुम्बिनी प्रदेशमा साझा उम्मेदवार बनाउनेबारे सामूहिक छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button