तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको सफल शल्यक्रिया

अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक पुरुषको सफल शल्यक्रिया गरिएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का ४७ वर्षका पुरुषको खुट्टाको सफल शल्यक्रिया भएको हो । खुट्टामा घाउ पाकेपछि उपचारको लागि बयालपाटा अस्पताल पुगेका उहाँको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
उहाँको अस्पतालका मेडिकल तथा शल्य चिकित्सा निर्देशक डा. मन्दीप पाठकको टोलीले सफल शल्यक्रिया गरेको हो । उहाँको खुट्टामा संक्रमण फैलिएर रगत नली बन्द भई खुट्टा मरिसकेको अवस्थामा रहेको र कोरोना समेत पुष्टि भएको अवस्थामा जोखिम मोलेर भए पनि शल्यक्रिया गरेको डाक्टर पाठकको भनाइ छ ।
छुट्टै अप्रेसन कक्ष बनाएर उहाँको शल्यक्रिया गरिएको र हाल उहाँलाई आइसोलेसनमा राखेर उपचार भइरहेको डा. पाठकले बताउनु भयो । डोटीबाट उपचारकै लागि अछाम पुगेका ती बिरामीले सफल शल्यक्रिया भएपछि आफु निको भएर घर फर्किनेमा विश्वस्त रहेको बताउनुभयो ।
हाल जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा बहिरङ्ग सेवा बन्द भए पनि फिबर क्लिनिक, आकस्मिक र अन्तरङ्ग सेवा सुचारु छ । अस्पतालले आकस्मिक सेवा सँगै अन्य कोरोना संक्रमित बिरामीको पनि उपचार गरिरहेको छ ।
नियमित अछाम, बाजुरा, डोटी लगायतका सुदूरपश्चिमका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई निशुल्क स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा हाल कोभिड–१९ का बिरामीको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।
सरकारले कोभिड विशेष अस्पताल नतोके पनि उपचारका लागि आएका बिरामीलाई कोरोना संक्रमण भएपछि यहीँ राखेर उपचार भइरहेको अस्पतालका मेडिकल तथा शल्य चिकित्सा निर्देशक डा. पाठकले बताउनुभयो ।
डा. पाठकले भन्नुभयो “उनीहरूको एन्टिजेन विधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि हुन्छ, ती बिरामीहरूलाई अस्पतालमै आइसोलेसन बनाएर उपचार गरिरहेका छौँ ।”
अस्पतालमा हाल १० जना कर्मचारी सँगै ४ जना कोरोना संक्रमित र ३ जना कोरोनाकै शङ्कास्पद बिरामीको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button