तपाईँ सुन्दै हुनुहुन्छः

गायक प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको जनाउनुभएको छ ।  सभामुख सापकोटाले आज अपराह्न ट्विट गर्दै  प्रधानप्रति श्रद्धाञ्जली अर्पणका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको  छ ।
सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पुर्‍याएको योगदान स्मरणीय रहने जनाउनु भएको छ ।   प्रधानको आज वसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो ।
प्रधानले ७०० भन्दा बढी गीत रेकर्ड गराउनुभएको  छ । उहाँका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत थुप्रै गीत चर्चित छन् । उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै  लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि श्रोताले बिर्सेका छैनन् ।
प्रधानको आज ८४ वर्षका उमेरमा  निधन भएको हो पुर्ख्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौँको नःघलमा भएको थियो । पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।
विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलो पटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुन्डिएको छ ।
उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो । उहाँ किशोरावस्थामा नारायण गोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ ।  उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button