तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा उपनिर्वाचन : थापा, देवकोटा र तामाङको उम्मेदवारी दर्ता

मकवानपुर । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ’बादल’, गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा र नेमकिपाका तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ ।

हेटौँडा –५ स्थित निर्वाचन आयोग बागमती प्रदेश हेटौँडाको कार्यालयमा पुगेर उहाँहरूले उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको हो ।

उपनिर्वाचनमा गृहमन्त्री राम बहादुर थापा ’बादल’को प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ ।

यस्तै डा.खिमलाल देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले तथा कृष्णबहादुर तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु रहनुभएको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेको एकल उम्मेदवारका  रुपमा बादललाई अगाडी सारिएको छ ।

२०७४ सालको निर्वाचनमा नेता रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रका तर्फबाट एमालेको समर्थनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्रबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि रिक्त भएकोले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि शुक्रवार उम्मेदवारको मनोनयन दर्ता गर्ने र शुक्रवार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुने जनाइएको छ ।

वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने २६ र २७ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा प्रदेश सभातर्फ १ सय १० र स्थानीय तहतर्फ २ सय ३८ गरी ३ सय ३८ मतदाता रहेका छन् ।

मनोनयन दर्ताको समय साँझ ४ः०० बजेसम्म तोकिएको छ । निर्वाचनको मतदान आगामी जेठ ६ गते हेटौँडा–४ मा रहेको भुटनदेवी स्कुलको चौरमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button