तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण रहेनन् रेडियो नेपालका प्राविधिक रावत

डोटी । कोरोना सङ्क्रमणका कारण रेडियो नेपाल, दिपायलमा कार्यरत प्राविधिक सन्तनन रावतको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका  घर भएका ३० वर्षीय रावतको कोरोनाको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
केही दिन पहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो ।
मृतक रावत केही समय पहिले मात्र रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारबाट सरुवा भएर दिपायल जानु भएको थियो । पहिलो पटकको कोरोना कहरमा कार्यालयकै क्वारेनटाइनमा बसेर काम गर्नु भएको थियो । साथै उहाँ रेडियो नेपालको एकदमै इमानदार कर्मचारी भएको उनका सहकर्मीहरू बताउँछन् ।
रेडियो नेपालले एक असल र इमानदार कर्मचारी गुमाएको छ । मृतक रावतप्रति रेडियो नेपाल परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गदै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button