तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो पटक संक्रमित हुनेहरू भन्छन् – ‘यो पटकको सङ्क्रमण पहिलेकोभन्दा खतरनाक’

रुपन्देही । एक पटक कोरोना संक्रमण परेर निको भएका र कोरोनाविरुद्धको खोप लगाएकाहरूलाई पनि अहिले फेरी सङ्क्रमणले निकै च्यापेको छ ।
पहिलो चरणको सङ्क्रमणभन्दा यो पटकको सङ्क्रमणले निकै दुःख दिएको उनीहरूको भोगाई छ ।
विशेष गरी खोप लगाएका र पहिलोपटक सङ्क्रमणमा परेकाहरूले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान नदिएका कारण पनि यस्तो भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
एक पटक कोरोना जितेपछि अब केही हुँदैन र कोरोनाविरुद्ध खोप लगाएपछि सुरक्षित भइयो भनेर सावधानी नअपनाउँदा यस्तो समस्या आएको चिकित्सक सङ्घ लुम्बिनीका सचिव डा. सागर न्यौपाने बताउनुहुन्छ ।
‘एक पटक संक्रमण भएकालाई तीन महिनासम्म फेरी संक्रमण नहुन सक्छ भन्ने हो तर भाइरसको प्रकृति फरक फरक आइरहेकाले ठ्याक्कै यस्तो भन्ने पुष्टि हुन सकेको छैन’, न्यौपानेले भन्नभयो । डा.न्यौपाने पहिलो पटक संक्रमित भएकाले तयार गरेको एन्टिबडीले तीन महिनासम्म रोग प्रतिरोधी क्षमता बढाउन सक्छ तर अब कोरोनाले छुन सक्दैन भन्ने भ्रम धेरैमा छ त्यो सचेतनामा कमी आउन जरुरी रहेको बताउनुहुन्छ ।
पछिल्लो समय कोरोनाविरुद्ध दोस्रो खोप लगाएकाहरूमा प्नि संक्रमण देखिएको छ ।
डा. न्यौपानेका अनुसार अहिलेसम्म यसको शतप्रतिशत रोकथाम कतै हुन सकेको छैन, कोरोनाविरुद्ध खोप लगाएकाहरूमा ७० प्रतिशतसम्म रोकथाम हुन्छ भन्ने अनुमान मात्र हो । तर पछिल्लो समयमा खोप लगाएका धेरैजनामा संक्रमण देखिएको उहाँ स्विकार्नुहुन्छ । अझ खोप लगाएर संक्रमित भएका कतिपयको त ज्यान नै गुमाएको तथ्याङ्कसमेत छ ।
कोरोनाविरुद्ध खोप लगाएको भएपनि आफ्नो आमाको सङ्क्रमणबाट मृत्यु भएको बताउँछन् बुटवल १३ का ऋषि आजाद । ‘मेरो आमामा कुनै पनि दीर्घ रोग थिएन, नियमित औषधि खानुपरेको थिएन, कोरोनाविरुद्धको खोप पनि लगाउनुभएको थियो तर मलाई संक्रमण भएपछि होम आइसोलेसनमा बसे, आमालाई पनि संक्रमण सर्‍यो, १५ दिन अस्पतालमा राखियो तर बचाउन सकिएन’, उहाँले भन्नुभयो ।
पहिलो चरणको सङ्क्रमणमा पनि आफ्नो परिवारका सदस्यहरु धेरैजना परेको तर अहिलेको जस्तो जटिल अवस्था नआएको उहाँको अनुभव छ । ६५ वर्षका आजादले कोरोना संक्रमण जित्न उच्च आत्मबलसहित नियमित खानपान र औषधि उपचारमै गम्भीर बन्न सुझाव दिन्छन् ।
बुटवल उपमहानगरपालिका सेमलारका तुल्सी पौडेल पनि गत कार्तिक महिनामा कोरोना सङ्क्रमणमा परेका थिए । उहाँको परिवारमै त्यतिबेला संक्रमण देखिएको थियो, तर अहिलेजस्तो जटिल थिएन । उहाँको अनुभवमा पनि पहिलेभन्दा अहिले समस्या निक्कै जटिल छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य ०७७ कार्तिक ५ गते सङ्क्रमणमा परेकी थिइन् । त्यतिबेला दुई साता घरमै बसेर कोरोना परास्त गरेकी आचार्यलाई अहिले पनि सङ्क्रमणले भेटाएको छ । तर पहिलेभन्दा अहिलेको सङ्क्रमणले निकै च्यापेको छ । अहिले त राम्रोसँग बोल्न पनि सकेको छैन, निकै च्यापेको छ, खोकी पनि निकै धेरै छ, म्यासेनजरमा आफ्नो प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– बोल्न निकै समस्या परेको छ ।
पहिले सङ्क्रमणमा परेकाहरू पनि अहिले संक्रमित भएको भएपनि कति जना परेका छन् भन्ने तथ्याङ्क जिल्ला तथा प्रदेश स्वास्थ्य कार्यालयमा छैन तर समस्या आइरहेको उहाँहरू बताउनुहुन्छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी दोस्रो पटक पनि संक्रमित बनेका र खोप लगाएर पनि संक्रमित भएकाहरूको आधिकारिक तथ्याङ्क निकाल्न नसकिएको बताउनुहुन्छ ।
‘स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतमा पनि दोस्रो पटक सङ्क्रमणमा परिरहेका छन् । सतर्कता बढाउन जरुरी छ ।’, उहाँले भन्नुभयो । ‘पहिलो र दोस्रो डोज खोप लगाएर दुई साता पुगेकालाई संक्रमण दर र संक्रमण भएपनि मृत्युदर अत्यन्तै कम रहेको छ, यो अहिले रुपन्देहीमा देखिएको तथ्याङ्कले पुष्टि हुन्छ, ६५ वर्षमाथिका संक्रमित कम छ र मृत्युदर पनि कम छ, ५० वर्षभन्दा कमीमा धेरै संक्रमण देखिएको छ, डा. गिरीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button