तपाईँ सुन्दै हुनुहुन्छः

बुकिङ्ग काउण्टरका सात कर्मचारी ट्राफिक प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखी परिचालन गरेको बिशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले बिभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ ।

महामारीको यस्तो परिस्थितिमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेका छौ, टोलीले सम्भावित त्यस्ता स्थानहरुमा निग्रानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट आएका र अत्याबश्यकपरि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने बर्ष ५३ को मनु अर्याल र उनकै छोरा बर्ष ३० को अनु अर्याललाई पक्राउ गरेको हो । त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौडाका ३८ बर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने बर्ष ४४ का बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ४९ बर्षे ज्ञानेन्द्र साह समेत बढि भाडा लिएको कसुरमा पक्राउ परेका हुन् ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति ब्यक्ति पच्चीससय देखि तीनहजारसम्म भाडा लिने गरेको पाइयो, जुन तोकिएको भन्दा करिव तिन गुणा बढि हुन आउने महाशाखाले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरि गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.ली.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम वढेको देखिन्छ । निषेधज्ञा लागु भएपछि अत्याबश्यक काम बिशेष र बिदेशबाट आएकाहरुसँग आफुखुशी बढि भाडा लिने १६ जनालाई पक्राउ गरि महाशाखाले कारबाहि गरेको छ ।

महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भम्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button