तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ८ करोड लगानीमा देशकै ठुलो बगैँचा निर्माण, ३० हजार बिरुवा रोपियो 

जुम्ला । जुम्लामा दोस्रो लहरको कोरोना सङ्क्रमणसँगै कृषि क्रान्ति सुरु भएको छ ।
कोभिडमा प्रतिदिन डेढ सयले रोजगारी पाउने, आर्थिक आम्दानी बढाउने र बाँझो जमिनलाई उपयोग गर्ने लक्ष्यका साथ जुम्लामा कोरोना कहरसँगै कृषि क्रान्ति सुरु  भएको हो ।
जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठुलो फुजि स्याउ बगैँचा स्थापना गरिएको छ ।
गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारीको करिब ८ करोड व्यक्तिगत लगानीमा देशकै नमुना र ठुलो स्याउ बगैँचा निर्माण भएको हो ।
जुन बगैँचाको शुक्रवार कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउ रोपेर बगैँचा प्रारम्भ भएको घोषणा गर्नुभयो ।
बगैँचा निर्माणका लागि ८७ जना स्थानीयबाट लिजमा लिइएको एक लाख ५० हजार बर्गमिटरमा फैलिएको नमुना बगैँचामा एकैसाथ शुक्रवार ३० हजार फुजि स्याउका बिरुवा रोपिएको छ ।
८ करोड लगानीमा पूर्वाधार सहितको सुविधा सम्पन्न प्राविधिक जनशक्ति सहितको नमुना स्याउ बगैँचा निर्माण भएको छ ।
८७ जनाको १ लाख ५० हजार वर्ग मिटर जग्गा ३० वर्षका लागि लिजमा लिइएको छ ।
उक्त नमुना बगैँचाबाट कोरोना कहरकै बीच दैनिक करिब १ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
स्याउ बगैँचालाई एक गौरवको परियोजनाका रुपमा हेरिएको छ । व्यक्तिगत लगानीमा बगैँचा निर्माण भए पनि कर्णालीको आर्थिक विकास, किसानको जीविकोपार्जन र रोजगारी सृजनामा कोशेढुंगा साबित हुने कृषि सचिव डा.राजेन्द्र प्रसाद मिश्रले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो लहरको कोभिडबाट देश आक्रान्त छ । फेरी उद्योग कलकारखाना बन्द भएका छन् । आर्थिक आम्दानी, उद्यमशीलताका काम रोकिएका छन् । तर देशकै नमुनाका रुपमा जुम्लामा ३० हजार बिरुवा रोपिएको स्याउ बगैँचा लकडाउनकै बीच स्थापना भएपछि खुसीको सन्देश दिएको छ ।”
देशको नमुना र कर्णालीको सान स्याउ बगैँचा उद्घाटनका लागि कोरोना कहरका बीच पनि जोखिम मोलेर आफु जुम्ला पुगेर  किसान, उद्यमी भण्डारीलाई हौसला दिन जुम्ला पुगेको कृषि मन्त्रालयका सचिव मिश्रले उल्लेख गर्नुभयो ।
साथै उहाँले नेपालको ठुलो स्याउ बगैँचा मात्र नभई कृषि तालिम केन्द्रका साथै फुजि स्याउ अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नमुना बगैँचाबाट उत्पादित स्याउको स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक निर्माण लगायतका प्राविधिक सहयोग भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले सहयोग गर्ने समेत प्रतिबद्धता उहाँले गर्नुभयो ।
व्यक्तिगत ८ करोड लगानी गरेर कृषि क्रान्ति सुरु गरी सरकारलाई कृषि क्षेत्रमा लगानी गर्न बाध्य बनाएको र उद्यमी मीन बहादुर भण्डारीको कृषि कर्मलाई थप बलियो र दिगो बनाउन प्रदेश सरकारले आवश्यकता अनुसार लगानी गर्नेमा दुई मत नहरको समेत उहाँले आश्वासन दिनुभएको छ ।
उहाँले कोरोनामा रोजगारी खोसियो, आम्दानी गुम्यो भनेर उर्वर बाँझो जग्गा टुलुटुलु हेरेर बस्ने युवाहरूका लागि गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारी उत्प्रेरणाको स्रोत बनेको र भण्डारीको श्रमलाई प्रदेश सरकारले उच्च सम्मान गर्ने उल्लेख गर्नुभयो ।
बगैँचामा रोपिएका ३० हजार बिरुवा मध्ये कम्तीमा १ हजार बिरुवा मात्रै जोगाउन सके पछिको पेन्सन हुने समेत उहाँको भनाई छ ।
स्याउ सुपर जोन कार्यालय जुम्लाले नमुना स्याउ बगैँचा निर्माणका लागि ५ हजार बिरुवा र थोपा सिचाई गरी ४६ लाख बराबरको सहयोग गरेको सुपर जोनका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
लामो प्रयास र सङ्घर्षबाट देशकै ठुलो बगैँचा निर्माण भएको र सरकारी निकाय सुपर जोनको मात्रै सहयोग रहेको उहाँको भनाई छ ।
आर्थिक विकास र रोजगारीको आधार
गुठिचौर एग्रो फार्म प्रा.ली.का अध्यक्ष मीनबहादुर भण्डारीले देशकै ठुलो र नमुना बगैँचा स्थापनाले जुम्लाको आर्थिक विकास र रोजगारी सृजनामा टेवा पुर्‍याउने विश्वास गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अबको एक वर्षपछि पाँच सय किसानले रोजगारी पाउनेछन् । हरेक किसान लाखौँका दरले कमाउने छन् । गत वर्ष लकडाउनदेखि सुरु गरिएको बगैँचा निर्माण कार्य एक वर्षपछि पूर्णता पाएर बिरुवा रोपिएको छ ।”
उहाँले कृषि सचिव आएर बगैँचामा बिरुवा रोपी उद्घाटन गरेर हौसला दिएपछि खुसी लागेको भन्दै फुजि स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिलेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार हाल सम्म करिब ८ करोड खर्च भइसकेको छ ।  १ लाख ३० वर्ग मिटरमा फैलिएको बगैँचामा ३० हजार बिरुवा रोपिसकेका छौँ ।
हाल एक दिनमा करिब डेढ सय जनाले रोजगारी पाएका छन् । भने, गुठिचौर एग्रो फार्म प्रा.लिमा पुर्णरुपमा काम गर्ने एक जना आयोजना प्रमुख, २ जना लेखापाल १ जना ओभरसियर, २ जना स्टोर किपर रहेका छन् ।
त्यस्तै हेल्पर १२ जना, जेटिए ४ जना चौकीदार ४ जना, २ जना सहजकर्ता, ३ जना चालक र ३ जना सहचालक गरी करिब ५० जना जनशक्ति राखिएको छ ।
उनीहरूले कोरोना कहरमा रोजगारी पाएका छन् ।
लगानीकर्ता मीनबहादुर भण्डारीले विगतमा जडीबुटी व्यापार गर्दा कमाएको रकम स्याउ खेतीमा लगानी गरेका हुन् ।
अन्यले व्यक्तिले कमाएर सुर्खेत नेपालगन्ज घर बनाएका छन् । उहाँले थप्नुभयो, “तर मैले आफ्नै भूमिमा स्याउ बगैँचामा लगानी गर्न पाउँदा खुसी छु । साथीभाइले रोजगारी पाउने, बाँझो जग्गा सदुपयोग हुने लक्ष्यले आफ्नै ठाउँमा लगानी गरेको छु । अझै मलजल, सिँचाई, प्राविधिक सहयोग, रोग किरा नियन्त्रणमा प्रदेश तथा स्थानीय सरकारसँग सहयोगको अपेक्षा छ ।”
अहिले बगैँचामा करिब २३ लाख बराबरको अर्ग्यानिक मल हालिएको छ ।
उद्यमी तथा लगानीकर्ता मीनबहादुरले दुई बर्ष अघि आफ्नै जग्गामा २ हजार ६ सय फुजि स्याउका बिरुवा रोपेर परीक्षण गरिसक्नुभएको थियो । जसमध्ये २ हजार २ सय बिरुवाले फल दिँदै आएका छन् । त्यसको सफलतासँगै करोडौँ लगानी गरेर देशकै ठुलो बगैँचा निर्माण उहाँ जुट्नुभएको हो ।
देशका ठुला ठुला कृषि विज्ञ अनुभवी किसानको सल्लाह सुझावका आधारमा बगैँचा निर्माण गरिएकोले सफल हुने भण्डारीको विश्वास छ ।
हाल जुम्लाको ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button