तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली स्टिकर टाँस गरी औषधी बिक्री वितरण गर्ने दुई जना पक्राउ

सुनसरी ।  सस्तो औषधीलाई महँगो औषधीको स्टिकर टाँस गरी बिक्री वितरण गर्ने औषधी पसल सञ्चालकसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर–४ स्थित साथी मेडिकल औषधी पसलका सञ्चालक विराटनगर–१० अशोक चोकका २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर–१६ रानीका २३ वर्षीय श्रवण कुमार यादव रहेका छन् ।
शुक्रवार दिनको १२ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले सञ्चालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी)  र Remdesivir नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो ।
आलमले स्टासेफ औषधी रू ९० मा खरिद गरी Remdesivir औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको Remdesivir औषधी कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने गरेको जनाएको छ ।
सो क्रियाकलापमा संलग्न अर्का यादव भने यसअघि २०७७ साल कार्तिक २५ गते विराटनगर–११ बसपार्क नजिक रातो भाले होटेलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसुरमा अनुसन्धानको क्रममा फरार रहेका थिए ।
यादवलाई शुक्रवार विराटनगर–१६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका आलमलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको छ भने यादवलाई लागू औषध र कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button