तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विशेष अधिवेशन सुरु (लाइभ) 

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।त्यस लगत्तै सभामुखले अधिवेशनका क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुभयो । उक्त प्रयोजनका लागि सदस्यमा डा डिला संग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम मनोनयन गरिएको छ ।

यसअघि बैठकमा गणतन्त्र र लोकतन्त्रका लागि जीवन आहुति दिने शहीदका सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । बैठकमा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीले संविधानबमोजिम विश्वासको मत लिन सूचना दिएकाले सो प्रयोजनका लागि १५ मिनेटपछि अर्को बैठक बस्ने जानकारी गराउनुभयो । बैठकमा भाग लिन प्रधानमन्त्री अपराह्न १ः०५ बजे यहाँ आइपुग्नुभएको थियो ।

अर्को बैठकमा प्रधानमन्त्री शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रस्ताव टेबल गरिएसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्य सुरु गर्नुहुनेछ । मन्तव्यका क्रममा प्रमले प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नुहुनेछ ।प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन प्रकारका मत जाहेर गर्ने व्यवस्था गरिएको छ ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ ।
त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नुहुनेछ । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने छ ।

मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकाहरूलाई मुख्य सभाकक्ष र पोजेटिभ सङ्क्रमणलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ । हाल कोरोना सङ्क्रमणबाट २८ सांसद प्रभावित भएको बताइएको छ ।

प्रतिनिधिसभा विशेष अधिवेशन सुरु (लाइभ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button