तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार

काठमाडौँ। छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२ गुम्बामा २९४ को काम सकिएको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले राससलाई जानकारी दिनुभयो ।

भूकम्पपछि गरिएको स्थलगत अध्ययनका क्रममा ८९५ गुम्बा पुनर्निर्माण गर्नुपर्ने भेटिएको छ । सोमा १०० वर्षभन्दा पुराना गुम्बाको सङ्ख्या २५० छ । हाल १०० वर्षभन्दा पुराना पाँच गुम्बाको पुनः निर्माण भइरहेको उहाँले सुनाउनुभयो ।

भूकम्पले भत्किएका गुम्बामध्ये दुई हजार वर्ग फिटभन्दा बढी क्षेत्रफल भएका गुम्बाको सङ्ख्या १४ छ । दुई हजार वर्ग फिटभन्दा बढी क्षेत्रफल भएका आठ गुम्बाको पुनः निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

गुम्बा व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहबाट पुनः निर्माण भइरहेका गुम्बाको सङ्ख्या १०१ छ । समिति र स्थानीय तहले पुनः निर्माण गर्नुपर्ने गुम्बाको सङ्ख्या ६३१ छ । यी गुम्बा क्रमशः पुनः निर्माण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button