तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मतका लागि मत विभाजन प्रक्रिया शुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ ।   मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।
मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन  तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।
विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना सङ्क्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनुहुने छ, अन्यथा २६६ सांसदले मत जाहेर गर्नुहुने छ ।
नेकपा (एमाले)का १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली काँग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र  राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक तथा  स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button