तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव असफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न  प्रस्तुत गर्नुभएको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा  ९३ र विपक्षमा १२४  मत परेको थियो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गर्नुभएको थियो । बैठकमा  २३२ सांसद उपस्थित हुनुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो ।
विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव विफल भएको हो ।  एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो ।
प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदान गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले  विपक्षमा मतदान गर्नुभयो । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक पर्थ्यो। मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ  । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।
एमालेका १२१, माओवादी केन्द्रका ४८,  काँग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी  र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button