तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीका १८ पत्रकार कोरोना संक्रमित 

भैरहवा । नेपाल पत्रकार महासङ्घ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ ।
पत्रकार महासङ्घ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एवं विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासङ्घले जनाएको छ ।
महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमित पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सङ्क्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन् । सङ्क्रमितमध्ये केही निको भएको र अधिकांश कोरोनासँग जुधिरहेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारको जीवन नै असुरक्षामा रहने गरी रिपोर्टिङ गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न र सकेसम्म इन्टरनेट, फोन तथा अन्य वैकल्पिक प्रविधिको प्रयोग गरी घरबाटै काम गर्ने वातावरण मिलाउन दिन समेत सम्पूर्ण सञ्चार गृहलाई आग्रह गरेको छ ।
महासङ्घ रुपन्देहीले कोरोनाको बहानामा खाइपाई आएको सेवा सुविधा कटौती नगर्न समेत सञ्चार गृहलाई अनुरोध गरेको छ ।
‘पत्रकार कोरोना तथा आपतकालीन कोष’ स्थापना
त्यसै गरी महासङ्घ रुपन्देहीको सोमबार बसेको कार्यसमितिको भर्चुअल (अनलाइन) बैठकले कोरोना महामारीले बिस्तारै स्वास्थ्य समस्यासँगै पेसागत असुरक्षा समेत बढाउन सक्ने भएकाले ‘पत्रकारको कोरोना तथा आपतकालिन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।
यो कोषमा तीन तहका सरकार, विभिन्न सामाजिक सङ्घ–संस्था, व्यक्ति तथा पत्रकारिता क्षेत्रलाई माया गर्ने शुभेच्छुकहरूलाई आर्थिक तथा स्वास्थ्य सुरक्षा एवं पत्रकारका लागि आवश्यक सामग्री समेत स्वतःस्फूर्त रुपमा सहयोग गर्न अपिल गरेको छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कमा रहेको खाता नम्बर ००१००१००००५०३३०००००१ मा जम्मा गर्न सकिने विज्ञप्तिमा भनिएको छ । साथै बैठकले कोरोना महामारीले पत्रकारहरूलाई पारेको प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सामाग्रीको व्यवस्थापन गर्ने, संक्रमित पत्रकारहरूको उपचारमा सक्दो संस्थागत पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button