तपाईँ सुन्दै हुनुहुन्छः

कोषमा जम्मा हुने रकम अनलाइन कर्मचारीको खातामा पठाइने

काठमाडौं । देशभरका सरकारी कर्मचारीहरूको नागरिक लगानी कोषमा जम्मा हुने रकम अनलाइन कर्मचारीको खातामा पठाइने भएको छ ।
यसअघि परम्परागत रुपमा रकम कट्टी गरी कोषमा पठाउने गरिएको थियो । सोमवारबाट सरकारी कर्मचारीको २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाइनबाट रियल टाइममा पठाउन शुरु गरिएको नागरिक लगानी कोषले जनाएको छ ।
यो व्यवस्था सँगै कर्मचारीको पारिश्रमिक बैङ्क खातामा आएकै समयमा कोषमा कट्टी हुने रकम समेत जाने व्यवस्था भएको छ । नयाँ थालनीले परम्परागत रुपमा फाँटवारी बनाउने कार्य गर्नु नपर्ने, ढिलो नहुने, रकम यताउता पर्ने जस्ता समस्या हटेर गई रकम समेत एकै पटक जाने व्यवस्था भएको नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रमण नेपालले बताउनु भयो ।
महालेखा नियन्त्रक कार्यालय सँगको सहकार्यमा देशभरका कर्मचारीहरूको बिमा रकम र नाल कोष कट्टा रकम सिगास सिस्टममार्फत अनलाइन माध्यमबाट नागरिक लगानी कोषमा जम्मा हुने व्यवस्था गरिएको हो ।
देशभरका पाँच हजार दुई सय कार्यालयका सेना र प्रहरी समेत गरी करिब ४ लाखको हाराहारीका कर्मचारीहरूको रकम विद्युतीय माध्यमबाट ट्रान्सफर हुने भएको हो ।
अब नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि,अवकाश कोष–राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बिमा कोष कार्यक्रमका लागि रकम अनलाइन फाँटवारी पठाउन मिल्ने व्यवस्था भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button