तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु, मृतकको सङ्ख्या ३२ पुग्यो

तनहुँ । तनहुँका थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएको विवरण स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधवार सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको व्यास नगरपालिकाको १ जना र शुक्लागण्डकी नगरपालिकाको २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
जिल्लाको व्यास–१ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २८ गते मङ्गलवार दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा मङ्गलवार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी–६ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २९ गते बुधवार बिहान ८ः४० बजे फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा मङ्गलवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसै गरी शुक्लागण्डकी–७ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २९ गते बुधवार बिहान ९ः४५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै तनहुँमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।
त्यसै गरी बुधवार नै जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५ जना महिला र ६ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button