तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

पश्चिम एसियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर आज संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ । सो अवसरमा स्वास्थ्य मन्त्री त्रिपाठीले सङ्कटका समयमा सहयोग गरेकामा सङ्घप्रति आभार प्रकट गर्दै सिलिण्डर आवश्यकताअनुसार लुम्बिनी प्रदेशमा २००, सुदूरपश्चिममा १००, कर्णाली प्रदेशमा १००, प्रदेश नं २ मा ८५ र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशनसमेत दिनुभयो ।

सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले
कोभिड – १९ सङ्क्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र सङ्क्रमणका कारण मानवीय क्षति पनि बढिरहेकाले सङ्घले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली सङ्घसंस्था तथा गैर आवासीय नेपालीसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

संघका संस्थापक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत् परेका बेलामा सधैँ गैर आवासीय नेपालीले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button