तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ गीतकार, लेखक  तथा  चलचित्र निर्देशक चेतन कार्कीको  निधन

काठमाडौं । वरिष्ठ गीतकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा आज  बिहान निधन भएको छ ।
दुई हप्ता अघि मात्र भारतको देहरादून बाट काठमाडौँ आउनुभएका  कार्कीलाई ज्वरो  आएपछि  छाउनीस्थित आर्मी अस्पतालमा  भर्ना गरिएको थियो ।
कार्कीको जन्म स्याङ्जा जिल्लाको एक सैनिक पृष्ठभूमि भएको घरमा वि.सं  १९९५ को कार्तिक महिनामा भएको थियो ।
बाल्यकाल देखिनै नेपाली लोकसंगीतमा रुचि राख्ने कार्कीको नाम गीतकार, निर्देशक, कवि, लेखक र नेपाली लोक संस्कृतिको अध्येताका रुपमा समेत परिचित हुनुहुन्छ ।
उहाँका तीजको रहर आयो बरीलै, बैनीको दया छ भने, पिरतीको चोखो कथा, लगायतका गीतहरू सबैको मन मुटुमा बस्न सफल छन् ।
उहाँका रचनामा नेपालका चर्चित गायक गायिकाहरू नारायण गोपाल, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले  स्वर दिनुभएको छ  ।
गीतको पाटो मात्र नभई सिनेमाको पटकथा लेखन र निर्देशनमा पनि  कार्की  सक्रिय हुनुहुन्थ्यो ।
परिवर्तन सिनेमाका लागि  पटकथा र गीत लेख्नुभएका कार्कीले विश्वास, भुमरी र पहिलो प्रेम सिनेमाको निर्देशन समेत गर्नुभएको छ ।
उहाँका बसिबियाँलो, माया प्रीतिको चोखो कथा, आत्मा बेचेको छैन, हत्केलाले सधैँ सूर्य छेकिँदैन, हो देश मेरो पनि गीत सङ्ग्रह प्रकाशित छन् ।
उपन्यासतर्फ हनिमुन र लघु उपन्यास ढलेको गिलास  प्रकाशित छन् साथै उहाँको हिन्दी कविता सङ्ग्रह कल्पना टुट चुकी है प्रकाशित छ भने  अन्य थुप्रै  फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा  प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button