तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ३ जना कोरोना सङ्क्रमितको मृत्यु, २४ जना थपिए

तनहुँ । तनहुँका ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको घिरिङ गाउँपालिकाको १ जना र व्यास नगरपालिकाको २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लाको घिरिङ–३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रमका मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उहाँमा गत वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै व्यास–४ बागबजार निवासी ८० वर्षीया वृद्धा र व्यास–१३ निवासी ९० वर्षका वृद्धको समेत मृत्यु भएको छ । दमौली अस्पतालमा उपचारपछि फर्कनुभएका वृद्धाको साँझ घरमा नै ज्यान गएको निर्देशनालयले उल्लेख गरेको छ । उहाँमा शनिबार कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, नेशनल एपोलो अस्पतालमा उपचारका लागि जानुभएका व्यास–१३ का ९० वर्षका वृद्धको पनि मृत्यु भएको छ । उहाँमा शनिबार कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

योसँगै तनहुँमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३९ जना पुगेको छ ।

व्यासका दुवैको आइतबार नेपाली सेनाले बुल्दी पारी दमौली शव दाहस्थलमा अन्त्येष्टि गरेको थियो । घिरिङका मृतकको भने कास्कीमा नै सैनिकले अन्त्येष्टि गरेको थियो ।

त्यस्तै आइतबार जिल्लामा २४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १० जना महिला र १४ जना पुरुष रहेका छन् ।

तनहुँमा २३९ थान अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । जसमध्ये दमौली अस्पतालमा ४० थान र अन्य बाँकी अन्यमा भएको उल्लेख गरिएको छ । यस्तै दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छैन । जडानका लागी टेन्डर प्रक्रियामा रहेको निर्देशनालयको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button