तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल उद्योग वाणिज्य सङ्घले कोभिड अस्पताललाई ४० लाखका उपकरण  दियो

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा केही दिनअघि सञ्चालन गरिएको कोभिड केयर युनिट अन्तर्गत आइसियु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य सङ्घले ४० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण सहयोग गरेको छ ।
अस्पताल र सङ्घ दुवै पक्षको सहमति अनुसार मङ्गलवार समझदारी पत्रमा संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू र महासचिव विमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्याल र प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सङ्घले मङ्गलवार नै ५ थान प्यासेन्ट मनिटर र ५ थान आइसियु बेड उपलब्ध गराएको संघका अध्यक्ष कसजूले बताउनुभयो । उहाँले बाँकी ५ थान प्यासेन्ट मनिटर र ५ थान आइसियु बेड तुरुन्तै उपलब्ध गरिने बताउनुभयो । दुई संस्था बिचको सहमति अनुसार सङ्घले १० थान प्यासेन्ट मनिटर र १० थान आइसियु बेड उपलब्ध गराउने छ ।
त्यस्तै गरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बस्यालले बुटवल उद्योग वाणिज्य सङ्घ, बुटवल उपमहानगरपालिका र आम्दा नेपालको सहकार्यमा स्थापना गरिएको आम्दा अस्पतालमा सङ्घले गरेको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । उहाँले सङ्घ, नगरपालिका, आम्दा नेपाल र प्रदेश सरकारको सहयोगमा सय शय्याको कोभिड केयर युनिट स्थापना गर्न लागिएको बताउँदै जति छिटो सामानको व्यवस्थापन हुन्छ त्यति छिटो कोभिड केयर युनिट सञ्चालन हुने बताउनुभयो । यो अस्पतालमा २५ बेड आइसियु, २५ बेड एचडीयु (डेडिकेटेड) र ५० बेड जनरल हुनेछन् ।
दुई पक्षको समझदारी अनुसार अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट अन्तरगत १० शय्याको आइसियु वार्ड सञ्चालनको लागि आवश्यक पर्ने आइसियु बेड र प्यासेन्ट मनिटर सङ्घले उपलब्ध गराउने, अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट लगायत आइसियु वार्डको भौतिक संरचना, आवश्यक बिजुली अक्सिजन आपूर्ति पाइपलगायतका संरचना तथा आवश्यक अन्य उपकरणको व्यवस्था मिलाउने काम अस्पतालले गर्नेछ ।
त्यस्तै गरी उक्त आइसियु वार्डलाई ‘बुटवल उद्योग वाणिज्य सङ्घ आइसियु वार्ड’ नामकरण गर्ने तथा त्यस अनुसारको विवरण लेख्ने राख्ने व्यवस्था अस्पतालले मिलाउने, आइसियु उपकरणहरूको मर्मत सम्भार, आवश्यक कर्मचारीको व्यवस्था तथा नियमित सञ्चालनको सुनिश्चितता गर्ने काम अस्पतालले गर्ने, कोभिड पश्चात् पनि अन्य प्रकारका सङ्क्रामक रोग तथा अन्य स्वास्थ्य उपचारको लागि उक्त सेवालाई निर्बाध रुपमा सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
आम्दामा कोरोनाका उपचार निःशुल्क
महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) ले कोरोनाका बिरामीलाई समेत उपचार सेवा शुरु गरेको छ ।
गएको वैशाख ३० गतेबाट कोरोना सङ्क्रमितको उपचार सेवा शुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालबालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्काल १० बेडमा कोरोना उपचार शुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुनेछ । त्यस्तै गरी अस्पतालले मङ्गलवारदेखि नै पीसीआर परीक्षण सुरु गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button